अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्दै
Author
Marketminds Investment Group

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २० अर्ब रुपैयाँ बराबरको रकम तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै उक्त रकम बैंकिङ प्रणालीबाट बाहिर ल्याउन लागेको हो।
राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजे निक्षेप संकलनका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समयभित्र ब्याजदर प्रस्तावसहित बोलकबोलमा सहभागी हुन सक्नेछन्।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ। यसले बोलकबोल प्रक्रियालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने राष्ट्र बैंकको अपेक्षा छ।
निक्षेप संकलन उपकरणको बोलकबोल ब्याजदरमा आधारित हुने र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकका अनुसार यो ८४ दिने अवधिको निक्षेप संकलन उपकरण हुनेछ, जसको साँवा तथा ब्याज आउँदो फागुन २७ गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकले पछिल्लो समय प्रणालीमा तरलता बढी देखिएकाले मौद्रिक स्थिरता कायम राख्न यस्ता उपकरण नियमित रूपमा प्रयोग गर्दै आएको जनाएको छ।
अर्थशास्त्रीहरूका अनुसार राष्ट्र बैंकको यस्तो कदमले अल्पकालीन ब्याजदरलाई सन्तुलनमा राख्न, अनावश्यक तरलता घटाउन र मौद्रिक नीतिको प्रभावकारिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


