अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्दै
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १६ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत अनलाइन बोलकबोल प्रणाली प्रयोग गरी निक्षेप खिच्न लागेको हो। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। तरलता र ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता खिच्दै आएको छ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। बोल गरिएको ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार आज हुने बोलकबोलमार्फत संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज २०८२ साल पुष २५ गते भुक्तानी गरिनेछ। केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थित गर्न ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही प्रावधानका आधारमा राष्ट्र बैंकले पछिल्ला समयहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।


