अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
Author
NEPSE TRADING

नेपाल राष्ट्र बैंकले आज (आइतबार) पुनः ३० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ । वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत सो रकम झिक्न लागेको हो । यो रकम ८४ दिनका लागि झिकिने राष्ट्र बैंकले जनाएको छ । यसअघि गत सातामा राष्ट्र बैंकले १७५ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो ।
राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार निक्षेप संकलन बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ ।
सूचनामा उल्लेख भएअनुसार निक्षेप संकलनमा न्यूनतम १० करोड र अधिकतम ५ करोडको गुणकमा भाग नजाने गरी बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन बोलकबोल ब्याजदरको आधारमा हुनेछ र बहुब्याजदर प्रणाली अन्तर्गत बहुबोलकबोल गर्न पनि सकिनेछ ।


