·

विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियो

Author

NEPSE trading

विदेशी विनिमय सञ्चिति ३० खर्ब नजिक, आयात धान्ने क्षमता झनै बलियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार २०८२ असोज मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकका अनुसार असार मसान्तमा रहेको सञ्चिति तीन महिनामै ११.३ प्रतिशतले वृद्धि भएको हो। विदेशी मुद्राको सञ्चिति बढेसँगै मुलुकको बाह्य क्षेत्र स्थायित्व अझै सुदृढ बन्दै गएको बैंकको निष्कर्ष छ।

अमेरिकी डलरमा हेर्दा पनि विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेको देखिन्छ। असार मसान्तमा १९ अर्ब ५० करोड रहेको सञ्चिति असोज मसान्तमा २१ अर्ब २१ करोड पुगेको छ। डलर आधारमा ८.७ प्रतिशतको वृद्धि भएको यो तथ्यांकले अर्थतन्त्रको विदेशी मुद्रा सुरक्षात्मक क्षमता बलियो भएको संकेत गर्दछ।

नेपाल राष्ट्र बैंकमा मात्र २६ खर्ब ६७ अर्ब ७० करोड बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। यो रकम असारमा २४ खर्ब १४ अर्ब ६४ करोड थियो। बैंकका अनुसार विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुमा उच्च रेमिट्यान्स प्रवाह, आयातको मध्यम वृद्धि र चालु खाता बचत प्रमुख कारक बनेका छन्।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेका विदेशी मुद्रा सञ्चितिमा पनि दोब्बर वृद्धि देखिएको छ। असारमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति असोजमा १८.७ प्रतिशतले बढेर ३ खर्ब १२ अर्ब १० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्रा सञ्चिति–GDP, कुल आयात र विस्तृत मुद्राप्रदायसँग तुलना गर्दा पनि सूचकहरू सुधारिएका छन्। २०८२ असोज मसान्तमा सञ्चितिको GDP सँगको अनुपात ४८.८ प्रतिशत, कुल आयातसँगको अनुपात १३६.६ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ३६.८ प्रतिशत पुगेको छ। यी सूचकहरू असारमा क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत मात्र थिए।

चालु खाता तथा शोधनान्तर दुवै सूचकहरू समीक्षा अवधिमा बलियो अवस्थामा रहेका छन्। चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र थियो। यसैगरी शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको समान अवधिमा यो बचत १ खर्ब ८४ अर्ब ९९ करोड थियो।

प्रत्यक्ष वैदेशिक लगानी (FDI–Equity) भने केही घटेको देखिन्छ। समीक्षा अवधिमा १ अर्ब ७४ करोड बराबरको मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ८१ करोड थियो। तर, खुद पुँजीगत ट्रान्सफरमा भने उल्लेख्य सुधार भएको छ। समीक्षा अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष २ अर्ब मात्र थियो।

केन्द्रीय बैंकले दिएको तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति अहिले १९.९ महिनाको वस्तु आयात तथा १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। आयात धान्ने क्षमतामा आएको सुधारले नेपालको बाह्य क्षेत्र मजबुत भएको संकेत गरेको छ।

Related News