चार महिनामै ६ खर्ब ९ अर्बको आयात, अन्तर्राष्ट्रिय व्यापार २४% ले बढ्यो; व्यापार घाटा ५ खर्ब १५ अर्बमा
Author
NEPSE TRADING

चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिक) मा नेपालले ६ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढीको बस्तु आयात गरेको छ। भन्सार विभागका ताजा तथ्यांकअनुसार, यो रकम अघिल्लो वर्षको यही अवधिभन्दा झन्डै १ खर्ब रुपैयाँ बढी हो।
अघिल्लो वर्ष कात्तिकसम्म ५ खर्ब १३ अर्ब रुपैयाँ को सामान आयात भएको थियो। तर, यस वर्ष सो अवधि सम्म आयातमा १८.७१% वृद्धि भएको छ। साउनदेखि असोजसम्म आयात वृद्धि दर करिब २०% रहेकोमा कात्तिकसम्म आइपुग्दा समग्र वृद्धिदर केही घटेको देखिएको भन्सार विभागले जनाएको छ।
चार महिनाको अवधिमा निर्यात पनि ठूलो स्तरमा बढेको छ।
अघिल्लो वर्ष कात्तिकसम्म ५२ अर्ब ६७ करोड रुपैयाँ को निर्यात भएकोमा यो वर्ष सोही अवधिमा निर्यात ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेर ७७% वृद्धि भएकाे हो।
तर, साउनदेखि असोजसम्म निर्यात वृद्धि दर ९०% रहेकोमा कात्तिकसम्म आइपुग्दा वृद्धि दर केही कम भएको देखिन्छ।
नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापार चार महिनामा २४% ले बढेर ७ खर्ब २ अर्ब रुपैयाँ नाघेको छ। निर्यात–आयात दुवै बढेसँगै व्यापारको कुल आकार बढेको हो।
यो अवधिमा नेपालले ५ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।
अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब थियो। यसरी, व्यापार घाटा १२% ले बढेको देखिन्छ।
समग्र व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष ९% बाट बढेर १३% पुगेको छ, जुन सकारात्मक संकेतका रूपमा लिइएको छ।
त्यस्तै, आयातको हिस्सा ९०% बाट घटेर ८६% मा झरेको छ। आयातको हिस्सा घट्नु र निर्यातको हिस्सा बढ्नु नेपालका लागि दीर्घकालीन रूपमा सकारात्मक मानिन्छ।


