·

बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

Author

NEPSE TRADING

बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भएका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीको स्थायित्व र विश्वासमा नकारात्मक असर पार्न सक्ने भन्दै सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकका अनुसार सरकार, बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको संयुक्त प्रयासका कारण स्थानीय तहसम्म वित्तीय सेवाको पहुँच विस्तार भएको छ। यसबाट सर्वसाधारणले निक्षेप राख्न, कर्जा लिन, विप्रेषण सेवा उपयोग गर्न तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहजता पाएका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह, अनुगमन र कर्जा असुली गर्नु सम्बन्धित संस्थाको प्रमुख जिम्मेवारी भएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्ने भए पनि प्रतिकूल परिस्थितिमा राष्ट्र बैंकले कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरी सहजीकरण गर्दै आएको जनाएको छ।

बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा ग्राहकले सम्बन्धित बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि राष्ट्र बैंकले स्मरण गराएको छ। साथै, बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीप्रति गैरजिम्मेवार वा उच्छृङ्खल व्यवहार नगर्न सबैलाई सचेत गराउँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवार ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्दै, वित्तीय प्रणालीप्रति जनविश्वास कायम राख्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

Related News