अध्ययनका लागि मात्र एक महिनामा १४ अर्बभन्दा बढी रुपैयाँ विदेशियो
Author
NEPSE TRADING

देशभित्रै विश्वविद्यालय, कलेज र शैक्षिक संस्था भए पनि विदेशिने विद्यार्थीको संख्या झन् बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्र अध्ययनका लागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा अध्ययनका लागि रु १४ अर्ब ९६ करोड व्यय भएको थियो। यस वर्षको खर्च अलि कम भए पनि अध्ययनका लागि विदेशिने प्रवृत्ति अझै उच्च नै देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
शिक्षासँगै सेवा खातामा समेत ठूलो रकम बाहिरिएको छ। समीक्षा अवधिमा भ्रमण व्यय २.८ प्रतिशतले घटेर रु २१ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु २२ अर्ब ३२ करोड थियो।
यद्यपि, सेवा खाताअन्तर्गत भ्रमण आय भने वृद्धि भएको छ। समीक्षा अवधिमा भ्रमण आय १२.७ प्रतिशतले बढेर रु ५ अर्ब ३८ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यो आय रु ४ अर्ब ७७ करोड मात्र थियो।
तर, समग्रमा हेर्दा समीक्षा अवधिमा खुद सेवा आय रु १३ अर्ब ३९ करोड घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि सेवा आय रु १५ अर्ब ६ करोड घाटामा रहेको थियो।