प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै, राजनीतिक गतिविधि तीव्र
Author
NEPSE TRADING

प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी रहँदा मुलुक क्रमशः निर्वाचनको माहोलमा प्रवेश गर्न थालेको छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र बनाएको छ भने सरकार तथा राजनीतिक दलहरू पनि आ–आफ्नो तर्फबाट निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय देखिएका छन्।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ। साथै, आयोगले जनसङ्ख्याका आधारमा समानुपातिक प्रणालीअन्तर्गत दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायका लागि प्रतिशत निर्धारण गर्ने प्रक्रिया पनि अघि बढाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा तयार गरी सुझाव सङ्कलन गरिरहेको छ।
सरकारले पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन आवश्यक सहजीकरण गरिसकेको जनाएको छ। शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृतिसमेत दिइसक्नुभएको छ।
राजनीतिक दलहरूबीच निर्वाचन केन्द्रित गतिविधि तीव्र बनेको छ। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइसकेको छ। कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ उम्मेदवार छनोट गर्दै प्रतिनिधिसभासँगै राष्ट्रियसभाका उम्मेदवारसमेत केन्द्रमा सिफारिस गरिरहेको छ। उम्मेदवार छनोटको तयारीमा कांग्रेस अन्य दलभन्दा अघि देखिएको छ।
यसैबीच, नेकपा (एमाले) को ११औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधरहित वातावरणमा निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ। उहाँले निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन सरकारको भूमिकामा जोड दिनुहुँदै निर्वाचनबाट एमाले भाग्छ भन्ने आरोप अस्वीकार गर्नुभयो। एमालेले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दल दर्तालगायतका प्रक्रिया पूरा गरिसकेको छ।
यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ‘सन्देशसभा’का नाममा देशव्यापी निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाएको छ। सो दलले धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको छ भने शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभा आयोजना गरेको थियो। आगामी पुस ५ गते काठमाडौंमा सन्देशसभा आयोजना गर्ने तयारीमा रहेको नेकपाले तोकिएको मितिमै निर्वाचन हुनुपर्ने अडान लिएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन निर्धारित मितिमै सम्पन्न हुनुपर्ने र त्यसका लागि पार्टी पूर्ण रूपमा क्रियाशील रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरिसकेको छ। समानुपातिकतर्फ उम्मेदवारको आवेदन खुला गरिसकेको सो पार्टीले विभिन्न भेला तथा सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल १०० राजनीतिक दल निर्वाचनमा सहभागी हुने भएका छन्। ती दलहरू दर्ता भई निर्वाचन चिह्नसमेत प्राप्त गरिसकेका छन्। यद्यपि, दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचन चिह्न प्रयोग गर्ने गरी आवेदन दिएका कारण कुल ९३ वटा निर्वाचन चिह्न कायम भएका छन्। प्रत्यक्षतर्फ भने ११४ राजनीतिक दल निर्वाचनमा सहभागी हुँदैछन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा देशव्यापी रूपमा राजनीतिक गतिविधि थप बढ्ने संकेत देखिएको छ। आयोग, सरकार र राजनीतिक दलहरूको तयारीसँगै मुलुक पूर्ण रूपमा निर्वाचनको दिशातर्फ अगाडि बढिरहेको छ।


