·

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ देखि सर्वसाधारणका लागि खुल्दै

Author

NEPSE TRADING

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ पुस ७ देखि सर्वसाधारणका लागि खुल्दै

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आगामी पुस ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा मंसिर २२ देखि २५ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट प्राप्त अनुमति अनुसार रिलायन्सले कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्नेछ। यसमध्ये कर्मचारीका लागि सुरक्षित ५७ हजार ७९८ कित्ता शेयर कट्टा गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।

कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहे पनि बुक बिल्डिङ विधिबाट निर्धारण गरिएको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ। यसअनुसार आईपीओमा आवेदन दिन न्यूनतम ५० कित्ता (४१ हजार ४० रुपैयाँ) र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म अवधि लम्बिनेछ।

बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गरिएको थियो, जसको कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सो मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा सी–आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ प्रयोग गरी आवेदन दिन सक्नेछन्।

लगानी फिर्ता अवधि र रेटिङ

शेयर निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कम्पनीलाई CARE-NP Single A- Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्दछ। कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको छ।

अदालतको आदेशपछि खुलेको आईपीओ

२०७१ असार १२ गते आईपीओ निष्काशनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि विभिन्न विवादका कारण मुद्दा अदालतसम्म पुगेपछि आईपीओ रोकिएको थियो। रिलायन्स स्पिनिङ मिल्सले उच्च अदालत पाटनमा परमादेशको माग गर्दै रिट दायर गरेपछि अदालतले कम्पनीको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि अनुमति दिएको हो।

कम्पनी परिचय

२०५४ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय सञ्चालनमा आएको उत्पादनमूलक उद्योग हो। नेपालकै प्रमुख धागो उत्पादन गर्ने उद्योगमध्ये एक मानिने यो कम्पनी रोजगारदाता उद्योगका रूपमा पनि अग्रणी रहेको छ। कम्पनीका उत्पादनहरू नेपालमा खपत हुनुका साथै भारत, टर्की लगायतका मुलुकमा निर्यात हुँदै आएका छन्। वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबरको निर्यात मार्फत यसले देशको आयात–निर्यात सन्तुलनमा उल्लेखनीय योगदान दिँदै आएको छ।

कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग ईटहरी उपमहानगरपालिका–१२, खनार (सुनसरी) मा रहेको छ भने शाखा उद्योग ईटहरी उपमहानगरपालिका–४, दुहबी मा सञ्चालनमा छ।

पुँजीगत संरचना

कम्पनीको अधिकृत पूँजी २ अर्ब ६० करोड रुपैयाँ, जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँ र हालको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ रहेको छ। सर्वसाधारणलाई आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

Related News