रिलायन्स स्पिनिङ मिल्सको आईपीओसम्बन्धी मुद्दामा सर्वोच्चको चासो
Author
NEPSE TRADING

आम सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला झिकाउन आदेश दिएको छ। खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले यसअघि उच्च अदालतले कम्पनीको पक्षमा गरेको फैसलासहितको मिसिल माग गरेको हो।
आईपीओ प्रक्रियामा त्रुटि भएको दाबी गर्दै केही लगानीकर्ताले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। त्यहाँबाट कम्पनीको पक्षमा फैसला भएपछि असन्तुष्ट लगानीकर्ताहरू सर्वोच्च अदालत पुगेका हुन्।
यसैबीच, नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ प्रक्रिया अघि बढाइसकेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओको बिक्री तथा बाँडफाँट सम्पन्न गरिसकेको छ। अब कम्पनीले पुस ७ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको मूल्य तोकिएको यो आईपीओ हालसम्मकै महँगो आईपीओ मानिएको छ।



