·

शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक

Author

NEPSE trading

शंकास्पद कारोबार ४९% ले वृद्धि, वित्तीय जानकारी इकाईको प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सन् २०२४ मा शंकास्पद कारोबार र गतिविधिमा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ। इकाईले हालै प्रकाशित गरेको सन् २०२४ को गतिविधिसम्बन्धी न्यूजलेटरमा यस्तो तथ्यांक उल्लेख गरिएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार सूचक संस्थाहरूले इकाईमा पेस गरेका शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनको संख्या सन् २०२३ मा ६,२५५ रहेकोमा सन् २०२४ मा ४९% ले बढेर ९,३०४ पुगेको छ। यीमध्ये १,८९४ प्रतिवेदनको विश्लेषण गरिएकोमा १,०८६ प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकाय र नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा पठाइएको छ। बाँकी ८०८ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्न अभिलेखीकरण गरिएको छ।

सूचक संस्थाहरूले सन् २०२३ मा १७ लाख ८३ हजार १८३ सीमा कारोबारको विवरण पेस गरेका थिए, जुन सन् २०२४ मा बढेर १९ लाख ७२ हजार ८५५ पुगेको छ। सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध संस्थाहरूको संख्या सन् २०२३ मा १,४९६ रहेकोमा सन् २०२४ मा १,९०५ पुगेको छ।

इकाईले सन् २०२४ मा कर्मचारी, सम्बद्ध निकाय र सूचक संस्थाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गरेको र सहभागिता जनाएको न्यूजलेटरमा उल्लेख छ। साथै, सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वयका कार्यहरू पनि समेटिएको छ। न्यूजलेटरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वित्तीय जानकारी इकाईद्वारा लिखित दुई लेख समावेश छन्।

यसैगरी, इकाईले सन् २०२४ मा प्रकाशित प्रतिवेदन, मार्गदर्शन, वेबसाइटमा उपलब्ध सामग्री र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उपयोगी प्रकाशनहरूको लिंक पनि समावेश गरेको छ। यसले सम्पत्ति शुद्धीकरणविरुद्धको प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

Related News