बूढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० बैंकको ५२ अर्ब ५० करोड ऋण लगानी
Author
NEPSE TRADING

निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिने बूढी गण्डकी जलविद्युत परियोजनाका लागि १० वटा बैंकले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। गोरखा र धादिङ जिल्लाको सिमानामा निर्माण हुन लागेको ३४१.५ मेगावाट क्षमताको यो आयोजनाका लागि बिहीबार निर्माणकर्ता टाइम्स इनर्जी प्रा.लि. र बैंकहरूबीच औपचारिक सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार, सबैभन्दा बढी एनआइएमबी बैंकले १० अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ। त्यस्तै लक्ष्मी सनराइज बैंक र नविल बैंकले समान रूपमा ८ अर्ब–८ अर्ब, ग्लोबल आइएमई बैंकले ७ अर्ब, माच्छापुच्छ्रे बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले समान ४ अर्ब–४ अर्ब, प्रभु बैंक, नेपाल पूर्वाधार बैंक लिमिटेड र सिटिजन्स बैंकले समान ३ अर्ब–३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउनेछन्।
अर्ध-जलाशय (पीआरओआर) प्रविधिमा निर्माण हुने यो आयोजना ७० अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने अनुमान छ। लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ। टाइम्स इनर्जीका प्रशासन प्रमुख गोविन्दचन्द्र ढुंगानाका अनुसार आयोजना पाँच वर्षभित्र, २०८७ साल पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाबाट वार्षिक १,८६७ गिगावाट विद्युत उत्पादन हुनेछ, जुन करिब ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माणाधीन ४०० केभी नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ।
डिजाइनअनुसार, आयोजना बूढी गण्डकी नदीको दायाँ किनारमा मुख्य संरचना रहनेछ र दैनिक ५ घण्टाको दरले पिकिङ गर्न सक्ने पोखरी निर्माण गरिनेछ। यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहनेछ। बाँधबाट पानी इन्टेकमार्फत सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युत गृहमा पुग्नेछ।
भूमिगत विद्युत गृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत उत्पादन गरिनेछ। आयोजनाले २०८० साल पुस ५ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ।