१२.७९% बिक्री आम्दानी वृद्धि, घोराही सिमेन्टको घाटा आधाभन्दा बढीले घट्यो
Author
NepseTrading

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले गत आर्थिक वर्ष ६६ करोड रुपैयाँ नोक्सानी मात्र व्यहोरेको छ। बिक्री आम्दानी बढेसँगै नोक्सानी घटेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशतले बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल नाफा २३२.५४ प्रतिशतले बढेको छ। तर, वित्तीय खर्च भने १७.१० प्रतिशतले बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।