·

ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने

Author

NEPSE trading

ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने

राजधानीको व्यावसायिक भवन सञ्चालक कम्पनी ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि करिब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ। अब भने बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीले जारी गरेको विवरणअनुसार, आईपीओबाट संकलित रकममध्ये ७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा र ब्याज भुक्तानीमा खर्च गर्नेछ। त्यसपछि बाँकी रकममध्ये ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपति विस्तारमा, र ७१ लाख रुपैयाँ थापाथलीस्थित भवनको डोम र छानो मर्मतमा खर्च गर्ने बताइएको छ।

ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथली र गौशालामा व्यापारिक भवन निर्माण गरी भाडामा दिँदै आएको छ। कम्पनीले भनेका अनुसार, भवन निर्माणमा लिएको बैंक ऋण तिर्नकै लागि आईपीओ निष्कासन गरिएको हो।

कम्पनीको आर्थिक विवरण हेर्दा पछिल्ला वर्षमा नाफा भने बढ्दो क्रममा देखिन्छ। २०७८/७९ मा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा २०८१/८२ को पुस मसान्तसम्ममा सो रकम बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ। तथापि, प्रति शेयर नेटवर्थ भने क्रमशः घट्दो क्रममा देखिएको छ। २०७८/७९ मा प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँभन्दा बढी रहेकामा २०८३/८४ मा घटेर ८८ रुपैयाँ ५६ पैसा मा सीमित हुने प्रक्षेपण गरिएको छ।

आईपीओमा ICRA नेपालले दिएको BB- रेटिङले कम्पनीको दायित्व बहन क्षमतामा 'औसत जोखिम' रहेको देखाउँछ। यसले कम्पनीलाई मध्यम स्तरको जोखिमयुक्त लगानीको रूपमा परिभाषित गर्छ।

ट्रेड टावर लिमिटेडको आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। जेठ १९ गतेसम्म आवेदन खुला रहनेछ भने सो अवधिमा पूर्ण बिक्री नभएमा जेठ २८ गतेसम्म म्याद थप हुनेछ। आईपीओको बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।


ट्रेड टावरको आईपीओ नयाँ योजना वा प्रवर्द्धनका लागि नभई, अघिल्लो ऋण र संरचना मर्मतका लागि हो। यसले कम्पनीको अल्पकालीन वित्तीय व्यवस्थापनमा राहत त दिन सक्छ, तर लगानीकर्ताका लागि दीर्घकालीन लाभको सुनिश्चितता भने छैन। नाफा र प्रतिशेयर आम्दानी (EPS) मा वृद्धि देखिए पनि नेटवर्थमा आएको गिरावटले लगानीकर्तालाई सतर्क गराउँछ।

नोट : पछिल्लो समय झट्टै खोलिएका र कमजोर व्यवस्थापन भएका कम्पनीहरूले पनि आईपीओ ल्याउने र सर्वसाधारणमा शेयर जारी गर्ने प्रवृत्ति बढेको देखिन्छ। यस्ता कम्पनीहरूमा आईपीओ भर्दा प्रारम्भमा नाफा हुने भए पनि दोस्रो बजारमा कारोबार सुरु भएपछि यिनीहरूले बजारमा नकारात्मक अवस्था सिर्जना गर्ने सम्भावना धेरै हुन्छ।

Related News