·

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम/अभिमुखिकरण कार्यक्रम सम्पन्न

Author

NEPSE TRADING

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम/अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीका कर्मचारीहरूलाई लक्षित गरी मिति २०८२/०२/३० र २०८२/०३/०४ मा “सम्पत्ति शुद्धीकरण (AML), आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (CFT) तथा प्रक्षेपास्त्र वित्त पोषण निवारण (CPF)” सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त तालिममा ९३ जना सहभागी थिए।

बोर्डका कार्यवाहक कार्यकारी निर्देशक श्री रुपेश के.सी.ले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी वित्तीय गतिविधिहरूको निवारणका लागि बनेका कानूनी तथा नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमले व्यवसायीहरूको क्षमता अभिवृद्धिमा योगदान पुग्ने भएकाले निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

बोर्डका उपकार्यकारी निर्देशक श्री दिपेश ताम्राकारले AML/CFT/CPF व्यवस्थाको कार्यान्वयनमा सुधार भइरहेको उल्लेख गर्दै, तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

बोर्डको AML शाखाका निर्देशक श्रीमती रितम्भरा बस्नेतले AML/CFT/CPF को आधारभूत अवधारणा, ग्राहक पहिचान, जोखिम मूल्याङ्कन प्रणाली, धितोपत्र क्षेत्रसँग सम्बन्धित अपराध, रिपोर्टिङ्ग दायित्व, र स्क्रिनिङ सम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सहायक निर्देशक श्री भुवन देसारले गर्नुभएको थियो।

बोर्डले सूचक संस्थाहरूको सुपरिवेक्षण जोखिममा आधारित प्रणालीबाट गरिरहेको छ र यस्ता विषयमा क्षमतावर्द्धन गर्न विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ। हालसम्मको आर्थिक वर्षमा मात्रै बोर्डले १५१ जना सूचक संस्थाका कर्मचारीलाई AML/CFT/CPF सम्बन्धी तालिम प्रदान गरिसकेको छ।

बोर्डले विश्वास लिएको छ कि यस्ता तालिमहरूले धितोपत्र बजार सहभागीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउनेछ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापको निवारणमा कानूनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुनेछ। यसले पारदर्शी, सशक्त र विश्वसनीय धितोपत्र बजार निर्माणमा सहयोग पुग्नेछ।

Related News