·

अमेरिकी सिनेटमा ट्रम्पको कर तथा खर्च विधेयक झिनो मतले पारित, उपराष्ट्रपतिको टाइ–ब्रेकिङ मत निर्णायक

Author

NEPSE TRADING

अमेरिकी सिनेटमा ट्रम्पको कर तथा खर्च विधेयक झिनो मतले पारित, उपराष्ट्रपतिको टाइ–ब्रेकिङ मत निर्णायक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी सिनेटमा झिनो मतको अन्तरले पारित भएको छ। बीबीसीका अनुसार, लामो बहस, संघर्ष र रस्साकसीपछि विधेयकले सिनेटको प्रमुख अवरोध पार गरेको हो।

२४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि ‘वन बिग ब्युटिफुल बिल एक्ट’ नाम दिइएको विधेयकको मतदानमा पक्ष र विपक्षमा बराबर मत खसेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक टाइ–ब्रेकिङ मत दिएर विधेयक पारित गराएका हुन्।

यो विधेयक अब पुनः तल्लो सदन कंग्रेसमा पठाइनेछ, जहाँ अझै विरोध र चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। कंग्रेसमा यसअघि रिपब्लिकनहरूले एक मतको झिनो बहुमतले विधेयक पारित गरेका थिए। ट्रम्पले कंग्रेसलाई ४ जुलाईसम्म यो विधेयक कानुनका रूपमा अनुमोदन गर्न समयसीमा दिएका छन्।

मतदानपछि उपराष्ट्रपति भान्सले “संशोधनसहितको विधेयक पारित भएको छ,” घोषणा गरेसँगै रिपब्लिकन सिनेटरहरूले ताली बजाएर खुसी व्यक्त गरेका थिए भने डेमोक्र्याट सदस्यहरू निराश मुद्रामा सिटमा बसेका थिए।

विधेयकमा भएको घाटा, सामाजिक कार्यक्रम कटौती र खर्चको सीमाले सत्तारुढ रिपब्लिकन पार्टीभित्र नै विवाद निम्त्याएको थियो। एकता कायम राख्ने प्रयास हुँदाहुँदै पनि मेन राज्यकी सुसान कोलिन्स, नर्थ क्यारोलिनाका थम टिलिस र केन्टकीका र्‍यान्ड पलले विधेयकको विपक्षमा मतदान गरे।

यद्यपि, दिनभरको लबिङपछि रिपब्लिकन नेताहरू अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीलाई आफ्नो पक्षमा पार्न सफल भए, जसले मेडिकेड कटौतीका कारण अघिल्लो चरणमा समर्थन रोकेकी थिइन्।

यस विधेयकले अमेरिकी राजनीतिक वृत्तमा कर र खर्चको बहसलाई अझ चर्काउने संकेत देखिएको छ।

Related News