·

दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासा

Author

NEPSE TRADING

दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासा

काठमाडौं । संयुक्त राष्ट्रसंघको एक ताजा रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि तेलबाट कमाएको २५।२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको तथ्य सार्वजनिक गरेको छ।

मानवअधिकार आयोगको उक्त रिपोर्टअनुसार, जनताको स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च गर्नुपर्ने रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग गरिएको हो। रिपोर्टमा उल्लेख छ, “देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ।”

सबैभन्दा ठूलो अनियमितता ‘ओइल फोर रोड्स’ कार्यक्रममा देखिएको छ। सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नभएको रिपोर्टमा उल्लेख छ। सो रकम उपराष्ट्रपति तथा सम्भावित राष्ट्रपति उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको दाबी गरिएको छ। हालै उनी राष्ट्रिय सुरक्षा सेवामा जनरल पदमा बढुवा भएका छन्।

संयुक्त राष्ट्रसंघ आयोगका अनुसार यी अनियमितताले सीधै जनताको जीवनमा गम्भीर असर पारेका छन्। तर, दक्षिण सुडान सरकार भने रिपोर्टमा प्रयोग गरिएका तथ्याङ्क पक्षपाती भएको दाबी गर्दै अस्वीकार गरेको छ।

यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतका बीच आएको हो। मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, तर उनका समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन्।

Related News