२१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी
Author
NEPSE trading

रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अब परीक्षण उत्पादनको चरणमा पुगेको छ। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यो आयोजना जेठ १ गतेदेखि परीक्षण उत्पादन गर्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ।
आयोजनाका प्लान्ट म्यानेजर विनोद पौडेलका अनुसार बाँध, सुरुङ, विद्युत्गृह र स्वीचयार्डतर्फका सबै संरचनाको निर्माण सकिएको छ। विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन जडान गरेर आवश्यक परीक्षण पूरा गरिएको उनले बताए। हाल आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि ८ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणको अन्तिम चरणमा रहेको छ। टावरमा तार तान्ने काम तीव्र गतिमा भइरहेको छ।
यो आयोजना कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा रहेको बाँधबाट सुरुङ र पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई रघुगङ्गा नदी किनारमा रहेको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने संरचना निर्माण गरिएको हो। आयोजनामा ३,३८२ मिटर लामो सुरुङ र ६३४ मिटरको पेनस्टक टनेल समावेश छन्।
लगानी संरचना अनुसार आयोजनामा ३० प्रतिशत लगानी गैरआवासीय नेपाली र नेपाली नागरिकहरूको रहेको छ भने बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त लगानी हो। कुल ३ अर्ब ६० करोड रुपैयाँ लागत रहेको आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको वित्तीय साझेदारी रहेको छ।
निर्माण पक्षमा सिभिल कार्य साकुरा–पावर्त्रिपल एस जेभीले तथा इलेक्ट्रोमेकानिकल कार्य टोयर हाइड्रो कम्पनीले सम्पन्न गरेका छन्। आयोजनाले परीक्षण सफल भएपछि राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति सुरु गर्नेछ, जसले स्थानीय विकास र राष्ट्रिय ऊर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।