एशियन लाइफले ऐनविपरीत संस्थापकसँग मिलेर होटलमा लगानी
Author
NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सले आफ्नै संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणसँग स्वार्थ बाझिने गरी सिटी होटल्स लिमिटेडमा लगानी गरेको खुलासा भएको छ। कम्पनीले लिलाम बढाबढमार्फत सिटी होटल्सका २० लाख कित्ता शेयर खरिद गरेको हो। गोल्याण एशियन लाइफका ५.३१% शेयरधनी र सिटी होटल्सका २६% एकल स्वामित्वधनी तथा सञ्चालक अध्यक्ष समेत हुन्।
बीमा ऐन २०७९ ले बीमकलाई आफ्नै संचालक वा आधारभूत शेयरधनीसँग साझेदारीमा कुनै व्यवसाय गर्न कडाइका साथ निषेध गर्छ। त्यसैकारण प्राधिकरणका अधिकारीले यो कार्यलाई सरासर ऐनविपरीत भन्दै आपत्ति जनाएका छन्।
एशियन लाइफले प्रतिकित्ता रु. ३०6 मा १० लाख, रु. २७6 मा ९ लाख र रु. ४८० मा १ लाख साधारण शेयर खरिद गरेको छ। बैंकले मुद्दति निक्षेप नवीकरण नगरेपछि वैकल्पिक लगानीका रूपमा शेयर किनिएको कम्पनीको दाबी छ।
सिटी होटल्सले हायात सेन्ट्रिक ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्दै आएको छ। घाटाबाट उकासिन पूँजी जुटाउन कम्पनीले जारी गरेको हकप्रद बिक्री नभएपछि २१ लाख ५० हजार कित्ता शेयर लिलाममा राखिएको थियो। यसबाट कम्पनीले २१ करोड ५० लाख भन्दा बढी चुक्ता पूँजी तथा ४६ करोड ८६ लाख प्रिमियम कोष संकलन गरेको छ।



