एसियन थाइ फुड्स र हिमालयन सेक्युरिटीज बैंकरबीच आइपिओ व्यवस्थापन सम्झौता
Author
NEPSE TRADING

नुडल्स र स्न्याक्सका अग्रणी निर्माता तथा निर्यातकर्ता एसियन थाइ फुड्स लिमिटेडले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन प्रबन्धकका रूपमा हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडलाई चयन गर्दै रणनीतिक सम्झौता गरेको छ।
बिहीबार सम्पन्न कार्यक्रममा सम्झौतामा एसियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकरका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्। उक्त अवसरमा एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा, निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो।
कम्पनीले यो साझेदारीले पुँजी बजारमा प्रवेश गर्दै व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। विराटनगर र तौलिहवास्थित अत्याधुनिक उत्पादन एकाइहरूमार्फत एसियन थाइ फुड्सले आफ्ना रमपम, टु पिएम र प्रिती ब्रान्डका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ।
आइपिओसम्बन्धी विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँटबारे जानकारी आगामी महिनाहरूमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।