·

आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन खुला, असार २२ सम्म समय

Author

NEPSE TRADING

 आजदेखि विकाश हाइड्रोपावरको आईपीओमा आवेदन खुला, असार २२ सम्म समय

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्काशन) खुला गरेको छ। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो, जसको कुल मूल्य २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको रहेको छ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म रहेको छ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा म्याद असार ३२ गतेसम्म लम्बिन सक्छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति दिएको थियो। यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजनाबाट प्रभावित स्थानीयबासीलाई र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरेर पहिले नै बाँडफाँट भइसकेको छ।

यस्तै, ७० हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल फागुनदेखि विद्युत उत्पादन गरिरहेको छ।

लगानीकर्ताहरूले मेरोसेयर पोर्टलमार्फत वा आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्। कम्पनीले आईपीओमार्फत प्राप्त रकम परियोजनाको लागत असुली र भावी विस्तारका लागि उपयोग गर्ने जनाएको छ।

Related News