·

दुवै सदनको बैठक आज, बजेटमाथि छलफल सुरु हुँदै

Author

NEPSE trading

दुवै सदनको बैठक आज, बजेटमाथि छलफल सुरु हुँदै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बस्दैछ। आजका बैठकहरू आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल प्रारम्भ गर्ने दृष्टिकोणले विशेष महत्त्व राख्दछन्।

राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे

राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। बैठकको प्रारम्भमा सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी सन्देश टेबुल गर्ने कार्यक्रम रहेको छ।

त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी प्रतिवेदनसहित छलफलको प्रस्ताव प्रस्तुत गर्ने छन्। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश छ।

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे

दिउँसो २ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू सुनाउनेछन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन्।

आजको बैठकको सबैभन्दा महत्वपूर्ण कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट (राजस्व र व्ययको वार्षिक अनुमान) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। यससँगै प्रतिनिधि सभामा बजेटमाथिको औपचारिक छलफल सुरु हुनेछ।

Related News