भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेकथ्रु’ सम्पन्न
Author
NEPSE TRADING

सिन्धुपाल्चोकस्थित भोटेकोशी–१ जलविद्युत आयोजनाले सुरुङ खन्ने काम सफलतापूर्वक पूरा गरेको छ। ४४ मेगावाट क्षमताको यो आयोजना अन्तर्गत २.६३८ किलोमिटर लामो पानी पास गर्ने सुरुङ छिचोलिएको हो। सुरुङको उचाइ र चौडाइ (गोलाइ) दुवै ५.२ मिटर रहेको छ।
आयोजनाको सुरुङ निर्माण कार्य २०८० फागुनदेखि सुरु गरिएको थियो। प्रवर्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेड तथा निजी क्षेत्रको लगानीमा निर्माणाधीन यो आयोजनाको सुरुङ निर्माण भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीले गरेको हो। कम्पनीका अनुसार सुरुङको फिनिसिङ कार्य पूरा गर्न ६ देखि ८ महिनासम्म समय लाग्नेछ।
भोटेकोशी गाउँपालिका–३ र ४ मा बाँध तथा गापा–५ चाकुमा विद्युत गृह निर्माण भइरहेको छ। कुल लागत करिब ९ अर्ब ५६ करोड रुपैयाँ रहेको यो आयोजना पूर्ण रूपमा नेपाली लगानीमै निर्माण भइरहेको हो।
आयोजनाले आगामी फागुनभित्र ४४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ भने उत्पादन भएको विद्युत ७ महिनाभित्रै केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ।