·

नागरिक लगानी कोषको पहिलो त्रैमासमा ४.४३% नाफा वृद्धि, लगानीमा उल्लेख्य विस्तार

Author

NEPSE TRADING

नागरिक लगानी कोषको पहिलो त्रैमासमा ४.४३% नाफा वृद्धि, लगानीमा उल्लेख्य विस्तार

नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कोषको नाफा ४.४३ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको यसै अवधिमा CIT को नाफा ३० करोड ९ लाख रुपैयाँ थियो।

यद्यपि नाफामा वृद्धि भए पनि ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७% ले घटेर ९ करोड ७२ लाख रुपैयाँ मा झरेको छ। बैंक ब्याजदर घटेपछि कोषले मुद्दति निक्षेप तथा अन्य ब्याज आम्दानीबाट प्राप्त हुने रकममा कमी आएको जनाएको छ।

तर, सेवा शुल्क तथा कमिशनबाट भएको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। चालु वर्षको असोज महिनासम्म कोषले ४२ करोड ७४ लाख रुपैयाँ सेवा शुल्क र कमिशन आम्दानी गरेको छ, जसले नाफा वृद्धिमा सहयोग पुर्‍याएको छ।

समीक्षा अवधिसम्म CIT को कुल लगानी २ खर्ब ९५ अर्ब ८३ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल लगानी २ खर्ब ५० अर्ब ९९ करोड ५६ लाख रुपैयाँ मात्र थियो। एक वर्षमा कोषको लगानी १७.८६% ले बढ्नु कोषको सक्रिय लगानी नीति तथा पोर्टफोलियो विस्तारको सूचक हो।

धितोपत्रमा गरिएको लगानी पनि बढेको छ। समीक्षा अवधिसम्म कोषले ३२ अर्ब २७ करोड १९ लाख रुपैयाँ धितोपत्रमा लगानी गरेको छ, जुन गत वर्षको तुलनामा १ अर्ब ३२ करोड रुपैयाँ बढी हो। त्यस्तै, बैंकहरूको मुद्दति निक्षेपमा CIT ले १ खर्ब ६२ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको जनाएको छ।

नागरिक लगानी कोषको पहिलो त्रैमासिक नतिजाले ब्याज आम्दानी घटे पनि सेवा शुल्क तथा कमिशन आम्दानी र लगानी विस्तारका कारण नाफामा स्थिर वृद्धि भएको देखिन्छ।

Related News