सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने
Author
NEPSE TRADING

सिटी होटल लिमिटेडले आजदेखि (भदौ २३ गते) आफ्ना विद्यमान सेयरधनीहरूलाई लक्षित गर्दै ८० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रहनेछ।
यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। तदनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासनमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARENP Double B Minus Issuer Rating प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।
यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत C-ASBA प्रणाली प्रयोग गरी तथा मेरो शेयर अनलाइन मार्फत पनि सजिलै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सिटी होटल लिमिटेडले तोकिएको अवधिभित्र हकप्रदमा आवेदन दिन सम्पूर्ण सेयरधनीलाई आग्रह गरेको छ।