·

गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायो

Author

NEPSE trading

गभर्नर नियुक्तिसँगै गठबन्धन टुट्ने हल्ला सेलायो

लामो समयको राजनीतिक खिचातानी र अनिश्चिततापछि सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयले सत्तारुढ गठबन्धनमा देखिएको तनावलाई कम गर्नुका साथै सरकार ढल्ने आशंकालाई पनि मत्थर पारेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिलाई लिएर लामो समयदेखि कुरा नमिल्दा गठबन्धनमा संकट आउने र सरकार नै धरापमा पर्ने चर्चा चलेको थियो। चैत २४ देखि रिक्त गभर्नर पदमा सहमति जुटाउन नसक्दा जेठ ५ मा तय भएको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता र मन्त्रिपरिषद् बैठक स्थगित हुँदा यस्ता हल्लाले थप बल पाएका थिए ।

मंगलबार बालुवाटारमा भएको ओली र देउवाबीचको करिब एक घण्टाको भेटपछि गभर्नर नियुक्तिमा सहमति जुटेको हो । छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकले पनि भाग लिएका थिए। उनीहरूले नियुक्तिमा ढिलाइले बाहिर नकारात्मक सन्देश गएको भन्दै तत्काल निर्णय लिन सुझाएका थिए ।

कांग्रेसले सुरुमा अन्य उम्मेदवारहरूको नाम अघि सारे पनि अन्ततः डा. विश्व पौडेलमा सहमति भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पौडेलको सट्टा अन्य विकल्प खोजेका थिए, तर कांग्रेसको दृढ अडान र गठबन्धनको स्थिरताका लागि उनले पौडेललाई नै स्वीकार गरे ।

यो नियुक्तिसँगै गभर्नर पदको रिक्तता हटेको छ भने गठबन्धन र सरकारप्रति चलेका नकारात्मक हल्लाहरू पनि कमजोर बनेका छन् ।

Related News