कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनीको नाफामा उच्च वृद्धि, बिक्री आम्दानीले दियो बलियो साथ
Author
NEPSE TRADING

नेपालमा कोकाकोला उत्पादन र वितरण गर्ने बोटलर्स नेपालका दुवै कम्पनी—बालाजु र तराई—ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक भएका त्रैमासिक वित्तीय विवरणअनुसार दुवै प्लान्ट सम्बद्ध कम्पनीको नाफा गत वर्षको तुलनामा धेरै गुना बढेको छ।
बोटलर्स नेपाल बालाजुः नाफा चार गुणाभन्दा बढी वृद्धि
काठमाडौँको बालाजुमा रहेको बोटलर्स नेपाल बालाजुले पहिलो त्रैमासमा ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्र थियो।
नाफा वृद्धि हुने मुख्य कारण बिक्री आम्दानीमा आएको तीव्र वृद्धि हो। कम्पनीको बिक्री आम्दानी गत वर्ष ३ अर्ब रुपैयाँबाट बढेर यस वर्ष ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) पनि उल्लेख्य वृद्धि भई ६०८ रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो १५८ रुपैयाँ मात्र थियो। प्रतिसेयर नेटवर्थ ३,३५० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा १६ हजार रुपैयाँ थियो।
बोटलर्स नेपाल तराईः बिक्री आम्दानीले नाफा उचाल्यो
चितवनमा सञ्चालन हुने बोटलर्स नेपाल तराईको नाफा पनि यस त्रैमासमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले पहिलो त्रैमासमा २७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि गत वर्षको सोही अवधि नाफा ८ करोड १८ लाख रुपैयाँ थियो।
बिक्री आम्दानी गत वर्ष २ अर्ब २ करोड रुपैयाँबाट बढेर यस वर्ष २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धिमा प्रमुख योगदान गरेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९०५ रुपैयाँ, र प्रतिशेयर नेटवर्थ ३,१४२ रुपैयाँ रहेको छ। बिहीबार बजार बन्द हुँदा यसको सेयर मूल्य प्रतिकित्ता १० हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो।



