टेलिकम भ्रष्टाचार प्रकरणमा एमडी संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा
Author
NEPSE trading

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकममा भएको भ्रष्टाचार प्रकरणमा संलग्न भएको ठहर गर्दै प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दामा टेलिकमको बिलिङ प्रणालीको मर्मत–सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ।
मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल समेत प्रतिवादी बनाइएको छ। पौडेल भ्रष्टाचार र अकुत सम्पत्ति प्रकरणमा मुछिएपछि सरकारले २०७८ भदौमा संगीता पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।
अख्तियारले दायर गरेको मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो माग गरिएको छ। आयोगका अनुसार सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै संस्थानलाई आर्थिक नोक्सानी पुर्याइएको ठोस प्रमाणको आधारमा मुद्दा अघि बढाइएको हो।
अख्तियारका अनुसार संलग्न व्यक्तिहरूले सरकारी निकायमा पदको दुरुपयोग गरी नियोजित रूपमा प्रक्रिया मिच्दै आर्थिक अनियमितता गरेको प्रमाणित भएको छ।