सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेश
Author
NEPSE TRADING

जिल्ला अदालत काठमाडौंले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित समाचार हटाउन दुई अनलाइन सञ्चारमाध्यमलाई अल्पकालीन आदेश जारी गरेको छ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमाण्डु प्रालि र नेपाल खबर प्रालिलाई सो आदेश दिएको हो। श्रेष्ठले ती सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीहरूले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै अदालतमा रिट दायर गरेका थिए।
उनको निवेदनको आधारमा अदालतले तत्काल समाचार हटाउन अल्पकालीन आदेश दिएको हो। साथै, निवेदकको मागअनुसार किन अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्ने आधारसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ।
यस अल्पकालीन आदेशको निरन्तरता दिने नदिने विषयमा छलफल गर्न असार ४ गतेका लागि पेसी तोकिएको छ।