दरम खोला हाइड्रो इनर्जीले आजदेखि आईपीओ निष्काशन गर्दै
Author
NEPSE TRADING

दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गतेदेखि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी प्राथमिक शेयर निष्काशन गरेको हो। कुल एक अर्ब तीन करोड पाँच लाख रुपैयाँ चुक्ता पूँजीमध्ये ३८.३३ प्रतिशत अर्थात ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिनेछ।
यसमध्ये १० लाख ३० हजार ५०० कित्ता शेयर गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका तथा बडीगाड गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार ९५० कित्ता शेयर निष्काशन गरिनेछ। कर्मचारी र म्युचुअल फन्डका लागि क्रमशः ५८ हजार ३९० र १ लाख ४५ हजार ९७५ कित्ता सुरक्षित गरिएको छ।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानिय बासिन्दाका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २३ र ढिलोमा साउन ६ तोकिएको छ भने वैदेशिक नेपालीले असार २३ भित्र आवेदन दिनुपर्नेछ।
कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट ‘IRN BB-’ रेटिङ प्राप्त गरेको छ, जसले औसत जोखिम रहेको जनाउँछ। दरम खोला जलविद्युत आयोजना ९.६ मेगावाट क्षमताको हो जसको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ र प्रतिमेगावाट लागत २५ करोड रुपैयाँ रहेको छ।
शेयर बिक्री तथा निष्काशन प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। आवेदन सम्बन्धी सेवा विभिन्न स्थानीय बैंक शाखाबाट उपलब्ध हुनेछ। वैदेशिक नेपालीले भने सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।