रसुवामा बाढीको वितण्डा : दुई सय मेगावाट विद्युत् उत्पादन बन्द, RHPL मा सबैभन्दा ठूलो क्षति
Author
NEPSE TRADING

हालै आएको भीषण बाढीले रसुवा जिल्लाका प्रमुख जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवा करिडोर अन्तर्गतका आयोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले सबैभन्दा ठूलो क्षति १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना (RHPL) मा पुर्याएको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार आयोजनाको मुख्य बाँधको एउटा गेट बगाएको छ भने परियोजनामा रहेको पुल चर्किँदा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। यद्यपि, पावरहाउसमा भने खासै क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। टेलरेस क्षेत्रमा ढुंगा-माटो जमेको देखिए तापनि संरचनागत क्षति भने नभएको बताइएको छ।
त्यस्तै, ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’ आयोजनामा पनि बाढी पसेको छ। आयोजनाको भवनमा क्षति पुगेको देखिए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ। त्रिशूली ३ ‘बी’ सबस्टेसन हिलोले पुरिएको कारण उत्पादन कार्य स्थगित भएको छ। अर्कोतर्फ, चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी पसेको छ, तर ठूलो क्षति नभएको प्रारम्भिक विवरण आएको छ।
बाढीको कारण त्रिशूली नदी किनारमा रहेको प्रसारण लाइनको बाइपास टावर समेत बगाएको पुष्टि प्राधिकरणले गरेको छ। यी सबै क्षतिका कारण त्रिशूली करिडोरमा रहेका विद्युत् आयोजनाबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।
प्राधिकरणले तत्काल क्षतिको मूल्यांकन कार्य अघि बढाएको छ र यथासक्य छिटो मर्मत तथा पुनर्निर्माण सुरु गरी उत्पादन पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। तर, प्रभावित आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन केही समय लाग्ने प्राधिकरणको अनुमान छ।
बाढीको यो असर राष्ट्रिय विद्युत् आपूर्तिमा समेत अवरोध ल्याउने देखिएको छ, जसले ऊर्जा आपूर्तिमा थप दबाब सिर्जना गर्नसक्ने अनुमान गरिएको छ।