·

लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव

Author

NEPSE TRADING

लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव

काठमाडौं — सेयर बजारमा लाभांश सिजन सुरु भएसँगै ‘नगद लाभांश राम्रो कि बोनस सेयर?’ भन्ने बहस तीव्र बन्दै गएको छ। बजार विश्लेषक अजित खनालले आफ्नै फेसबुक पेजमार्फत लगानीकर्तालाई लाभांश छनोटबारे व्यावहारिक सुझाव दिएका छन्।

खनालका अनुसार यस विषयलाई दुई पाटोबाट विश्लेषण गर्न आवश्यक छ— पहिलो, कम्पनीको समृद्धि, विकास र पूँजीको आवश्यकताको सन्दर्भमा र दोस्रो, सेयर लगानीकर्ताका लागि हुने नाफा–घाटाको हिसाबमा।

नगद लाभांश सस्तो कम्पनीका लागि, बोनस महँगो कम्पनीका लागि लाभदायक

उनले स्पष्ट पारेका छन् कि बजार मूल्य तुलनात्मक रूपमा महँगो भएका कम्पनीको नगद लाभांश लगानीकर्ताका लागि लाभदायक नहुन सक्छ। किनभने कम्पनीले लाभांश सदैव फेस भ्यालु (सामान्यतः १०० रुपैयाँ) को आधारमा मात्र दिन्छ, बजार मूल्यको आधारमा होइन।

तर यस्ता कम्पनीले दिने बोनस सेयर भने लगानीकर्ताका लागि फाइदाजनक हुनसक्छ। खनाल भन्छन्, “महँगो बजार मूल्य भएका कम्पनीले दिने बोनस सेयरको मूल्य पनि महँगै हुने भएकाले लगानीकर्ताले त्यसबाट लाभ उठाउन सक्छन्।”

बोनस सेयरपछि पनि देखिन्छ मुमेन्टम

उनको विश्लेषणमा कतिपय अवस्थामा बोनस सेयर वितरणपछि स्टक मूल्यमा पुनः मुमेन्टम देखिने र सो प्रवृत्तिले बढ्दो बजारमा बोनस सेयरले राम्रो प्रदर्शन गर्ने उल्लेख गरिएको छ।

खनालले सुझाव दिएका छन्, “तुलनात्मक रूपमा बजार मूल्य सस्तो भएका स्टकहरूमा नगद लाभांश लिनु उपयुक्त हुन्छ भने बजार मूल्य महँगो भएका स्टकमा बोनस सेयर लिनु फाइदाजनक हुन्छ।”

उनको यो विश्लेषणले लाभांश छनोट गर्दा भावनामा होइन, कम्पनीको मूल्य, लाभांशको स्वरूप र बजार अवस्थाको सूक्ष्म विश्लेषणमा आधारित निर्णय लिनु पर्ने कुरामा जोड दिएको छ।

पोस्टको अन्त्यमा खनालले शुभकामनासहित ‘ह्यापी रोजगार डे’ लेखेका छन्।

Related News