नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलता
Author
NEPSE trading

नेप्से १८.३० अंकले बढ्यो, कारोबार रकम पनि उकालो, तर बजारप्रति लगानीकर्ताको विश्वास झन् घट्दै
नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिए पनि लगानीकर्ताबीच अझै अन्योलता कायमै छ। खुद्रा लगानीकर्ताहरू लामो समयदेखि गिरावट र साइडवेज ट्रेन्ड खेपिरहेका छन्, जसका कारण बजारप्रति उनीहरूको आत्मविश्वास अझै फर्किएको छैन। आजको कारोबारमा नेप्से परिसूचक १८.३० अंकले वृद्धि भई २८५०.३७ विन्दुमा बन्द भएको छ। सुधारको संकेत देखिए पनि लगानीकर्ताको प्रतिक्रिया अझै सतर्क छ।
बजारमा सुधार देखिए पनि संस्थागत तथा ठूला लगानीकर्ताले आक्रामक ढंगले प्रवेश नगरेको विश्लेषण भइरहेको छ। विश्लेषकहरूका अनुसार बजार ३ हजार विन्दु पुगेपछि फेरी २८ सयको स्तरमा झरेको हो। अहिले धेरै लगानीकर्ता साइडवेज ट्रेन्ड कायम रहने आँकलन गर्दै होल्डमै बसेका छन्। केही विश्लेषकले २७८०–२८०० लेबललाई बलियो समर्थन मानेका छन् र बजार त्यस तल नझर्ने विश्वास व्यक्त गरेका छन्।
तर, सामाजिक सञ्जालमा खुद्रा लगानीकर्ताले भने बजारप्रति विश्वास गुम्दै गएको उल्लेख गरेका छन्। लगातारको ओरालो र साइडवेज ट्रेन्डले थकित बनाएका लगानीकर्ताहरू अब बजारमा पुनः विश्वास लिन समय लाग्ने तर्क गरिरहेका छन्। साथै, ब्रोकरहरूले दिँदै आएको उधारो कारोबार र त्यसको फोर्स रिकभरीले बजारमा पुनः दबाव बनाएको विश्लेषण गरिएको छ।
अन्य सूचक र कारोबारको अवस्था
आज सेन्सेटिभ इन्डेक्स २.६१ अंक, फ्लोट इन्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८९ अंकले बढेका छन्। कारोबार रकम अघिल्लो दिनको ७ अर्ब ६३ करोड रुपैयाँबाट बढेर आज ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ पुगेको छ। कुल ३१८ स्टकको ९५,८३९ पटक कारोबार हुँदा २ करोड ५४ लाख ३ हजार कित्ता सेयर किनबेच भएको छ।
सिक्लेस हाइड्रोपावरको मूल्य ९.८१% ले बढ्दा, बरुण हाइड्रोपावर र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ९% र ७% भन्दा बढीले वृद्धि भएको छ। सबै स्टकमा सकारात्मकता देखिएन — सहकार्य लघुवित्तको सेयर मूल्य ८.२६% ले घटेर आजको दिनको सबैभन्दा बढी गिरावट भएको स्टक बन्यो।
उपसमूह विश्लेषण
१३ वटै उपसमूह हरियालीमा देखिए। तीमध्ये वित्त उपसमूह १.३८% ले वृद्धि भई अगाडि रह्यो। उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा पनि १% भन्दा बढी वृद्धिदर देखियो। बाँकी उपसमूहहरू सामान्य हरियालीमा बन्द भए।
प्राविधिक विश्लेषण: समर्थन स्तरमा बजारको प्रतिक्रिया
प्राविधिक विश्लेषक अजीत खनालका अनुसार, बजारले २८३० को प्राविधिक समर्थन क्षेत्र वरिपरि मजबुत प्रतिक्रिया देखाएको छ। विगतमा प्रतिरोधको रूपमा काम गरेको ट्रेन्डलाइन अहिले समर्थनको रूपमा काम गरिरहेको छ। पछिल्ला तीन दिन लगातार बजार सो लेबलमा आएर टेकेको थियो, र आज चौथो दिनको क्यान्डलले पनि सोही स्तरमै लो बनाउँदै हरियो बन्द दिएको छ — जुन प्राविधिक हिसाबले सकारात्मक संकेत हो।
खनालका अनुसार बजारले २८६१ सम्म पुगेको भए पनि त्यसपछि कमजोरी देखियो। बजारले फिबोनाच्ची रिट्रेसमेन्टको ३८.२% (२८५६.१६) लेबल स्पर्श गरेपछि पुनः तल झरेर ५०% लेबल (२८०५.७२) नजिकबाट बाउन्स दिंदै हरियो बन्द दिएको छ। RSI सूचक अहिले ५१.७४ मा छ, जुन न्यूट्रल जोन हो — अर्थात बजार न त अति खरिद (overbought) मा छ, न त अति बिक्री (oversold) मा।
ब्रोकर विश्लेषण: किनबेचमा समान अनुपात
आजका दिन ठूला १० ब्रोकरमध्ये ५ वटाले तुलनात्मक रूपमा बढी बाइ गरेका छन् भने ५ वटाले बढी सेल गरेका छन्।
ब्रोकर नं ४ बाट सिटिजन बैंक को ४७ हजार कित्ता सेयर किनिएको छ, जुन सो स्टकको कुल बाइको ५०% हो।
एमएफआईएल ५५ बाट ४५ हजार कित्ता सेयर बाइ भएको छ।
सेल पक्षमा, BHCL ५५ बाट झण्डै २ लाख कित्ता सेयर बिक्री भएको देखिन्छ।
त्यस्तै ५८ नं ब्रोकर बाट KPC को ९३ हजार कित्ता सेयर सेल भएको छ।
बजारले प्राविधिक रूपमा सुधार देखाए पनि लगानीकर्ता मनोबल अझै कमजोर देखिन्छ। हालको बाउन्सले अल्पकालीन आशा जगाएको छ तर दीर्घकालीन विश्वस्त वातावरण निर्माणका लागि अझै ठोस सुधार र स्थायित्व आवश्यक देखिन्छ। बजारले २८०० माथि टिकेमा फेरि २८७०–२९०० तर्फ उकालो लाग्न सक्ने संकेत देखिन्छ।