·

विद्युतीय सवारी आयातमा ४५.९० प्रतिशतको वृद्धि, चीनबाट मात्रै ८२ प्रतिशत

Author

NEPSE trading

विद्युतीय सवारी आयातमा ४५.९० प्रतिशतको वृद्धि, चीनबाट मात्रै ८२ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा विद्युतीय सवारी (ईभी) को आयात उल्लेखनीय रूपमा बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म ४२ हजार १ सय २ ओटा ईभी गाडी नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५.९० प्रतिशतले बढी हो।

गत वर्ष सोही अवधिमा २८ हजार ८ सय ५६ ओटा ईभी मात्र आयात भएका थिए। यस वर्ष १३ हजार २ सय ४६ ओटा विद्युतीय सवारी थप भित्रिएपछि वातावरणमैत्री सवारीप्रतिको आकर्षण बढ्दै गएको प्रष्ट हुन्छ।

यसवर्ष ईभी आयातमा कुल ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको वैशाखसम्म ईभी आयातमा २६ अर्ब ४ करोड रुपैयाँ खर्च गरिएको थियो।

यससँगै सरकारलाई ईभीको भन्सार राजस्वबाट पनि उल्लेख्य आम्दानी भएको छ। चालु आर्थिक वर्षमा मात्रै १७ अर्ब ४७ करोड २० लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ५९.९० प्रतिशत अर्थात् ६ अर्ब ५४ करोड रुपैयाँले बढी हो।

सरकारले वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन गर्न ईभीमाथि अन्य सवारीजस्तै उच्च भन्सार दर लगाएको छैन। तर, आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेका बेला सरकारले ईभीको भन्सार दर बढाउने हो कि भन्ने आशंका व्यवसायीहरूमा देखिएको छ। यही आशंकाले गर्दा पनि यो आर्थिक वर्षको विद्युतीय सवारीको आयात बढेको हुनसक्ने अनुमान गरिएको छ।

सामान्यतया सरकारले बजेटको समय धूमपान, मध्यपान र विलासिताका वस्तुहरूमा कर बढाउने प्रवृत्ति देखिएकाले बजेट आउनु अघिसम्म ती वस्तुहरूको आयात उच्च हुने गरेको व्यवसायीहरू बताउँछन्।

विद्युतीय सवारी चीन, भारत, जापान, कोरिया, अमेरिका, थाइल्यान्ड, जर्मनजस्ता १० भन्दा बढी मुलुकबाट आयात भएका छन्। सबैभन्दा धेरै चीनबाट आयात भएको छ। हालसम्म चीनबाट ३४ हजार ७ सय ५५ वटा ईभी आयात भएका छन्, जुन कुल आयातको ८२.५५ प्रतिशत हो।

त्यसैगरी, भारतबाट ७ हजार १ सय ५० ओटा ईभी आयात भएका छन्, जसको हिस्सा कुल आयातको १६.९८ प्रतिशत हो।

ईभीको आयात वृद्धिले नेपालमा विद्युतीय सवारीप्रतिको चेतना र बजार माग दुवै बढ्दै गएको देखिन्छ। यद्यपि, आगामी बजेटले यस प्रवृत्तिमा सकारात्मक या नकारात्मक प्रभाव पार्ने सम्भावना उच्च छ।

Related News