नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित
Author
NEPSE trading

नेपाल जग्गा तथा आवास विकास संघको १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक इञ्जिनियर दीपक कुँवर संघको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। संघमा नयाँ १५ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ।
संघको अन्य पदाधिकारीमा प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य, र कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह रहेका छन्।
नवनिर्वाचित अध्यक्ष कुँवरले घरजग्गा व्यवसाय थलिँदा मुलुकको समग्र अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै यसलाई चलायमान बनाउन राज्यले समयसापेक्ष कानुनी सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले घरजग्गा व्यवसायलाई "उद्योग" को मान्यता दिनुपर्ने माग समेत राखे।
कुँवरले जग्गाको हदबन्दीका कारण खर्बौं रुपैयाँ बराबरको सम्पत्ति रोक्का हुँदा व्यवसायी समस्यामा परेको बताउँदै यसले सिमेन्ट, रड, डन्डी जस्ता निर्माण सामग्री उद्योगहरूमा समेत प्रतिकूल असर पारेको बताए।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले हालै मन्त्रिपरिषद्ले सहरी विकास नीति, २०८१ स्वीकृत गरिसकेको जानकारी दिए। साथै सहरी विकास विधेयकको मस्यौदा भूमि व्यवस्था मन्त्रालयमा सुझावका लागि पठाइएको बताए।
सचिव सिग्देलले संयुक्त आवास ऐन र भवन ऐनलाई संशोधन गर्ने कार्य भइरहेको र व्यवस्थित जग्गा वर्गीकरण तथा व्यवस्थित सहरको अवधारणा अगाडि बढाइने बताए।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले घरजग्गा व्यवसायलाई व्यवस्थित र सहज बनाउन मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने स्पष्ट गरे।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष ष्णुप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, र नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायतले भूमिसम्बन्धी अध्यादेश संसद्बाट चाँडै पास गर्न सरकारलाई आग्रह गरेका थिए।
यस निर्वाचनले घरजग्गा व्यवसायमा देखिएको अनिश्चितता अन्त्य गर्ने अपेक्षा गरिएको छ भने संघले अबको कार्यकालमा नीति सुधार र व्यवसायिक समृद्धिको दिशामा कदम चाल्ने विश्वास व्यक्त गरिएको छ।