विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
Author
NEPSE TRADING

विकास हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिन आज (जेठ २० गते) अन्तिम दिन हो।
कम्पनीले ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको जारी पूँजीमध्ये ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरका ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ९ हजार १०१ कित्ता शेयर निष्काशन गरिएको हो। तीमध्ये गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा वडा नं. १, २, ३, ६ र ७ का लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर छुट्याइएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर निष्काशन गरिएको छ, जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
कर्मचारीका लागि ७० हजार ९१० कित्ता तथा सामूहिक लगानी कोषका लागि १ लाख ७७ हजार २७५ कित्ता शेयर छुट्याइएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस’ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रति मेगावाट लागत २४ करोड ५७ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै ३० वर्ष ९ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने समय ७ वर्ष ३ महिना र छुटमा फिर्ता हुने समय १० वर्ष ९ महिना रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना कार्यालय, प्रभु क्यापिटल (कमलादी), हिमालयन बैंकको धार्चे शाखा, र प्रभु बैंकको आरुपात शाखाबाट आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटलको अनलाइन प्रणाली मार्फत पनि आवेदन दिन सकिन्छ। स्थानीय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्।