अर्थमन्त्री पौडेलको आग्रह: 'पुँजी बजारमा नयाँ उपकरण ल्याउनुहोस्, इन्साइडर ट्रेडिङ रोक्नुहोस्'
Author
NEPSE trading

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पुँजी बजारको विकासका लागि नयाँ उपकरण ल्याउन आग्रह गरेका छन्। आइतबार सम्पन्न बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजारमा पारदर्शिता, विश्वसनीयता र लगानीकर्ताको आत्मविश्वास बढाउन आवश्यक कदम चाल्न सुझाव दिएका हुन्।
उनले भने, “सेबोनले इन्साइडर ट्रेडिङ, टीका टिप्पणी र अपारदर्शी क्रियाकलापहरू रोक्न सक्नुपर्छ। यिनै कमजोरीहरूलाई नियन्त्रण गरे मात्र पुँजी बजारको दिगो विकास सम्भव हुन्छ।” साथै, उनले सेबोनलाई नीतिगत प्रक्रियाहरूमा पनि पूर्ण पारदर्शिता अपनाउन आग्रह गरे।
कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले पुँजी बजारलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याएको बताए। उनले भने, “धितोपत्र बोर्ड कुनै पनि किसिमको प्रभाव वा दबाबमा पर्नु हुँदैन। बोर्डले स्वतन्त्र रूपमा, इमानदारीपूर्वक र निष्पक्ष ढंगले काम गर्नुपर्छ।”
उनले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई स्वतन्त्र रुपमा निर्णय लिने, इन्साइडर ट्रेडिङविरुद्ध कडा कदम चाल्ने र लगानीकर्तालाई सचेतना प्रदान गर्ने दिशामा अगाडि बढ्न आग्रह गरे।
यस कार्यक्रममा विभिन्न विश्लेषक तथा सरोकारवालाहरूले पनि पुँजी बजारको सुधार र पारदर्शिता आवश्यक भएकोमा जोड दिएका थिए।