आगामी बजेट कार्यान्वयनको तयारी सुरु
Author
NEPSE trading

अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको तयारी कार्य सुरु गरेको छ। मन्त्रालयमा आयोजित बैठकमा नीति, कार्यक्रम, बजेट र माइलस्टोनबीचको समन्वय गरेर कार्य योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा बजेटमा समावेश गरिएका विभिन्न कार्यक्रम र आयोजनाहरूको खरिद प्रक्रियालाई अघि बढाउन निर्देशन दिएका छन्। उनले भने, “बजेट स्वीकृत भएपछि चाँडो सम्झौता गर्न सकिने गरी तयारी गर्दा कार्यको गति बढाउन मद्दत पुग्नेछ।”
मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन अतिरिक्त कानूनी व्यवस्थाको आवश्यकता नभएको स्पष्ट पार्दै, बजेटमा समावेश योजनाहरूको लागि तयारी कार्य तीव्रता दिने प्रस्ताव गरेका छन्। बैठकमा चालू आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा ध्यान दिने विषयमा पनि छलफल भएको थियो।
अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता र कागजात पूरा भएका योजनाहरूको सहजीकरण गर्नका लागि अर्थ मन्त्रालयले छिटो निर्णय लिने प्रतिबद्धता जनाए। उनले कागजात पूरा भएका योजनाहरूको लागि सहजीकरण गर्न विना कुनै रोकटोक बिदा र शनिबार पनि काम गर्ने तयारी रहेको बताए।
यो बैठकमा भौतिक पूर्वाधार र यातायात, जल स्रोत र सिँचाइ, खानेपानी लगायतका मन्त्रालयका सचिवहरू सहभागी थिए।