सामाजिक सञ्जाल र मोबाइल एपमार्फत वित्तीय ठगी बढ्दै, राष्ट्र बैंकले नागरिकलाई सचेत रहन आग्रह
Author
NEPSE TRADING

काठमाडौं, असोज २८ — पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल र मोबाइल एपमार्फत वित्तीय ठगीका घटना तीव्र गतिमा बढिरहेका छन्। अपरिचित व्यक्ति वा नम्बरबाट ‘लक्की ड्रमा परेका’, ‘महँगो मोबाइल वा पुरस्कार जितेका’, ‘विदेशबाट पार्सल आएको’, ‘धन–सुन फेला परेको’, वा ‘छोटो समयमा धेरै प्रतिफल पाइने’ जस्ता आकर्षक सन्देशहरू पठाउने क्रम तीव्र भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई यस्ता भ्रामक सन्देश र प्रस्तावहरूबाट सावधान रहन आग्रह गरेको छ। केन्द्रीय बैंकका अनुसार यस्ता सन्देशहरू प्रायः वित्तीय ठगीका उद्देश्यले पठाइएका हुन्छन्, जसको मुख्य लक्ष्य सर्वसाधारणको व्यक्तिगत वा वित्तीय विवरण चोरी गरेर आर्थिक हानि पुर्याउनु हो।
राष्ट्र बैंकले भनेको छ, “अपरिचित व्यक्तिको सन्देशमा विश्वास नगर्नुहोस्, आफ्नो बैंक खाता नम्बर, पासवर्ड, एटीएम पिन वा ओटीपी कोड कसैसँग पनि साझा नगर्नुहोस्।” साथै, सजिलो नाफा वा आकर्षक प्रस्तावका नाममा अनलाइन लगानी नगर्न र कुनै पनि अनौठो प्रस्तावका बारेमा सम्बन्धित आधिकारिक निकायसँग जानकारी लिन आग्रह गरिएको छ।
वित्तीय ठगीका घटना नियन्त्रण र रोकथामका लागि बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी र सुरक्षा निकायबीच समन्वय बढाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साथै, ठगीमा परेका वा शंका लाग्ने सन्देश प्राप्त हुनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि नागरिकलाई आग्रह गरिएको छ।