वैदेशिक विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्यो, १८ महिनाभन्दा बढीको आयात धान्न पर्याप्त
Author
NEPSE TRADING

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको छ। २०८१ असार मसान्तमा सञ्चिति रु. २०४१ अर्ब १० करोड रहेकोमा २०८२ असार मसान्तसम्म पुग्दा यो परिमाण रु. २६७७ अर्ब ६८ करोड पुगेको हो।
अमेरिकी डलरमा हेर्दा, २०८१ असार मसान्तमा सञ्चिति १५.२७ अर्ब डलर रहेकोमा यस वर्ष २७.७ प्रतिशतले बढेर १९.५० अर्ब डलर पुगेको छ।
नेपाल राष्ट्र बैंक र अन्य बैंक–वित्तीय संस्थाको सञ्चिति
नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति रु. १८४८ अर्ब ५५ करोडबाट ३०.६ प्रतिशतले वृद्धि भई रु. २४१४ अर्ब ६४ करोड पुगेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको सञ्चिति रु. १९२ अर्ब ५५ करोडबाट ३६.६ प्रतिशतले बढेर रु. २६३ अर्ब ४ करोड पुगेको छ।
२०८२ असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २३.१ प्रतिशत रहेको छ।
सञ्चिति पर्याप्तता
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ।
२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादन (GDP) को ४३.८ प्रतिशत, कुल आयातको १२८.१ प्रतिशत, र विस्तृत मुद्राप्रदाय (M2) को ३४.१ प्रतिशत बराबर पुगेको छ। अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत मात्र रहेका थिए।
वैदेशिक लगानी स्थिति
२०८२ असार मसान्तसम्म मुलुकको कुल वैदेशिक सम्पत्ति रु. २९२९ अर्ब ६९ करोड र दायित्व रु. २१४६ अर्ब ४३ करोड रहेको छ। यसअनुसार, खुद वैदेशिक लगानी स्थिति (Net International Investment Position) रु. ७८३ अर्ब २६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष यो परिमाण रु. ३०५ अर्ब ८४ करोडले बचतमा मात्र थियो।
नेपालको विदेशी विनिमय सञ्चिति पछिल्लो वर्ष उल्लेखनीय रूपमा बढ्दै गएको छ। १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने क्षमता, वैदेशिक सम्पत्ति वृद्धि र दायित्व व्यवस्थापनले अर्थतन्त्रलाई अल्पकालीन रूपमा सुरक्षित बनाएको छ। तर, विज्ञहरूका अनुसार आयात उच्च दरमा बढिरहेकाले दीर्घकालीन टिकाउका लागि निर्यात र उत्पादन क्षेत्रमा सुधार अपरिहार्य छ।