बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउ
Author
NEPSE TRADING

काठमाडौं । मोटर दुर्घटना भएको भन्दै नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेको छ। वि एण्ड वि अस्पतालको नक्कली कागजात प्रयोग गरी तेस्रो पक्ष बीमाको दाबी गर्ने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाराका मनोज कुमार आचार्य, काभ्रेका हरि प्रसाद गौतम, सर्लाहीका सुनिल सापकोटा, काठमाडौंका विनोद डंगोल, गोदावरीका सुनिल महर्जन र विकेश कुँवर रहेका छन्। पक्राउ परेकामध्ये एक जना कम्पनीकै कर्मचारी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुले आफन्त वा विभिन्न व्यक्तिको मोटर तेस्रो पक्ष बीमा गराएर दुर्घटनाको नक्कली विवरण पेश गर्दै आएका थिए। कम्पनीमा १५ वटा दाबी पेश गरिएकोमध्ये १३ वटाको भुक्तानी भइसकेको र दुई वटाको भने रोकिएको नेपाल माइक्रो इन्स्योरेन्सका सूचना अधिकारी सुशान्त थापाले बताएका छन्।
दाबी प्रक्रिया मिलाउन कम्पनीकै कर्मचारीले ठगी गिरोहलाई सहयोग गरेको समेत प्रहरीले जनाएको छ। शंका लागेपछि कम्पनीले कानूनी सल्लाहकारमार्फत घटना छानबिन गरेको र नक्कली विवरण फेला परेपछि प्रहरीलाई उजुरी गरेको हो।
ठगीमा संलग्न गिरोहले वि एण्ड वि अस्पतालका कागजातसहित विभिन्न सरकारी निकायका स्ट्याम्प र लेटर प्याडसमेत नक्कली बनाएर प्रयोग गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बीमा कम्पनीमा यस किसिमका ठगी दाबी नयाँ होइनन् तर प्रायः कम्पनीहरुले ब्राण्ड जोगाउन मौन बस्ने गरेका छन्। नेपाल माइक्रोले भने साहसिक कदम चालेको भन्दै प्रहरीले प्रशंसा गरेको छ। कम्पनीले पनि यस कदमले सम्पूर्ण बीमा उद्योगमा जनताको विश्वास बलियो हुने दाबी गरेको छ।