·

बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा

Author

Astitwa Sharma

बेबी बुमर्सदेखि जेन जेडसम्म: खुद्रा लगानीको विकास यात्रा

पछिल्लो एक शताब्दीदेखि विश्वव्यापी रूपमा शेयर बजारमा खुद्रा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा परिवर्तन हुँदै आएको छ। यो परिवर्तन पुस्तागत सोच, प्रविधिको विकास र बजार संरचनाको फेरबदलले प्रभावित हुँदै आएको हो। बेबी बुमर्सदेखि जेन जेडसम्म हरेक पुस्ताले आफ्नै सोच, प्राथमिकता र लगानीप्रतिको दृष्टिकोण लिएर आएको छ, जसले खुद्रा लगानीको मार्गचित्र निर्माण गर्दै आएको छ।

प्रारम्भिक चरण: बेबी बुमर्स र परम्परागत लगानी

सन् १९४६ देखि १९६४ बीच जन्मिएका बेबी बुमर पुस्ताले आधुनिक शेयर बजारको विकास देखेका हुन्। दोस्रो विश्वयुद्धपछिको आर्थिक उकालोमा उनीहरूले दीर्घकालीन र स्थिर लगानीलाई आधार मानेर वित्तीय सुरक्षा खोजे। उनीहरूको लगानी सोच सतर्क, संस्थानमाथिको भरोसामा आधारित र दीर्घकालीन आम्दानीमा केन्द्रित देखिन्थ्यो।

२० औं शताब्दीको उत्तरार्द्धमा डटकम बबलदेखि २००८ को वित्तीय संकटसम्मको घटनाले उनीहरूको रणनीति अझ सतर्क र संरक्षणमुखी बनायो। म्युचुअल फन्ड, व्यक्तिगत सेयर तथा रिटायरमेन्ट फन्डहरू नै उनीहरूको प्रमुख लगानी माध्यम बने।

जेनरेशन एक्सको उदय: शंका र विविधीकरण

सन् १९६५ देखि १९८० बीच जन्मेका जेन एक्स पुस्ता, बेबी बुमर्स र मिलेनियल्स बीचको सानो तर महत्त्वपूर्ण पुस्ता हो। अनिश्चित आर्थिक पृष्ठभूमि र प्रविधिको प्रारम्भिक विकास देख्दै हुर्किएका यो पुस्ताले सुरक्षित भविष्य र आत्मनिर्भरतालाई प्राथमिकता दियो।

नेपालको सन्दर्भमा हालको राजनीति र प्रशासनिक नेतृत्व प्रायः यही पुस्ताको हातमा रहेको छ। उनीहरूको सोच अझै पनि परम्परागत र सतर्क छ। यद्यपि केहीले रियल स्टेट, उद्यमशीलता, तथा वैकल्पिक लगानी अपनाएका छन्, उनीहरू प्रविधिमैत्री प्लेटफर्मको सुरुवाती प्रयोगकर्तामध्ये परे।

टेक-सेवी मिलेनियल्स: डिजिटल क्रान्ति र सामाजिक उत्तरदायित्व

२१औं शताब्दीमा मिलेनियल्सले शेयर बजारमा नयाँ ऊर्जा भित्र्याए। सामाजिक रूपमा सचेत, प्रविधिमा निपुण र पारदर्शितालाई प्राथमिकता दिने यो पुस्ताले खुद्रा लगानीको स्वरूप नै बदलिदियो।

फेसबुक, रेडिट, एक्स (ट्विटर), टिकटकजस्ता प्लेटफर्महरूमा लगानीसम्बन्धी छलफल, विचार र रणनीति साटासाट हुने चलनले DIY (Do It Yourself) संस्कृतिको विकास गर्‍यो। यसैको कारण प्राविधिक विश्लेषण र अल्पकालीन ट्रेडिङ शैलीले बजारमा वर्चस्व बढाउँदै लग्यो। नेपालमा TMS (ट्रेड म्यानेजमेन्ट सिस्टम) जस्ता प्लेटफर्मले प्रविधिगत रूपमा पछाडि परिरहेकोमा यस पुस्ता असन्तुष्ट देखिन्छ।

जेन जेडको आगमन: प्रविधिमैत्री र वैकल्पिक सोच

मिलेनियल्सपछि आउने जेन जेड पुस्ता अहिले बल्ल कार्यक्षेत्रमा प्रवेश गर्दैछ। डिजिटल युगमै हुर्किएको यो पुस्ताले क्रिप्टोकरेन्सी, फरेक्स ट्रेडिङ, ESG (सस्टेनेबल) लगानीजस्ता विकल्पमा चासो देखाइरहेको छ।

नेपालमा मिलेनियल्स जस्तो प्रणालीप्रति असन्तुष्ट नभई जेन जेड वैकल्पिक अवसर खोज्ने प्रवृत्तिमा छन्। तर, यिनले प्रयोग गर्ने धेरै बजारहरू, जुन विश्वव्यापी रूपमा वैध छन्, नेपालमा भने ग्रे वा गैरकानुनी क्षेत्र मानिन्छन्।

खुद्रा लगानीको भविष्य अँगालौं

बेबी बुमर्सदेखि जेन जेडसम्मको खुद्रा लगानी यात्राले आर्थिक परिवेश, प्रविधि, सामाजिक सोच र बजार संरचनाको समग्र परिवर्तन देखाएको छ। आजको पुस्ता टेक्नोलोजीमैत्री, छरितो निर्णय क्षमता भएको, जिम्मेवार र सशक्त लगानीकर्ता हो। तर नेपालमा नीतिनिर्माण तहमा रहेका जेन एक्सले अहिले पनि नयाँ पुस्ताको आवश्यकता बुझ्न सकेका छैनन्।

यदि नीति निर्माणमा सहभागीता, वित्तीय साक्षरता र प्रविधिको सही उपयोग गरियो भने नेपालको खुद्रा लगानी बजारले विश्व बजारको गति समात्न सक्छ। आज मिलेनियल्स र जेन जेड विदेश जान चाहन्छन् भनेर धेरैले गुनासो गर्छन्। तर वास्तविकता के हो भने उनीहरू सशक्त, जागरुक र समयको मूल्य बुझ्ने छन्। यदि नीतिनिर्माताहरूले यिनको भोलिको बाटो खुला गरिदिए भने, उनीहरू आफैं देशको अर्थतन्त्र सम्हाल्नेछन्।

अब प्रश्न उठ्छ — के जेन एक्स पुस्ताले यो पुस्तान्तरणलाई बुझ्न थालेका छन्?

Related News