·

भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशत

Author

NEPSE TRADING

भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरिएको बजेटमध्ये १ खर्ब ८० अर्ब १७ करोड ४ लाख खर्च भएको हो।

खर्च संरचना हेर्दा, चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमध्ये १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च भएको छ, जुन ९ दशमलव ६७ प्रतिशत हो। त्यस्तै, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजन भए पनि अहिलेसम्म ६ अर्ब ३५ करोड ३३ लाख मात्र खर्च भएको छ, जसको प्रतिशत १ दशमलव ५६ पर्छ। वित्तीय व्यवस्थातर्फ भने ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएकोमा ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भइसकेको छ, जुन १५ दशमलव ८९ प्रतिशत हो।

राजस्व संकलनतर्फ भने लक्ष्यअनुसार प्रगति भएको देखिँदैन। सरकारले चालु आर्थिक वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा भदौ मसान्तसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख मात्र उठाएको छ, जुन वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत हो।

यसमा कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख लक्ष्य राखिएकोमा १ खर्ब ५० अर्ब ४० करोड १३ लाख संकलन भएको छ। यो लक्ष्यको ११ दशमलव ३५ प्रतिशत मात्र हो। गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख लक्ष्यमध्ये ७ अर्ब १३ करोड २१ लाख संकलन भएको छ, जुन ४ दशमलव ६२ प्रतिशत हो।

त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखिएकोमा हालसम्म १ अर्ब २७ करोड ३७ लाख मात्र प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २ दशमलव ३८ प्रतिशत मात्र हो, जसले अनुदान संकलनमा पनि प्रगति सुस्त देखाएको छ।

Related News