गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन
Author
NEPSE trading

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमै छ। आज साँझ मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नर नियुक्त हुने अपेक्षा गरिएको भए पनि आवश्यक सिफारिस समितिको बैठकसमेत अझैसम्म तय नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय गरिएको छ। सो बैठकले नै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना रहेको भए पनि त्यसका लागि आवश्यक सिफारिस समिति नबोलाइएकाले प्रक्रिया अनिश्चित देखिएको हो।
अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक बोलाउने जिम्मेवारी अर्थमन्त्रीकै भए पनि हालसम्म समिति नबोलाइएको र बैठक बस्ने नबस्ने पनि सुनिश्चित नभएको जानकारी दिइएको छ। सम्भावित व्यक्तिको नाम पनि समितिका सदस्यहरूसँग साझा गरिएको छैन, जसले गर्दा समयमै सहमति जुट्न कठिन हुनसक्ने संकेत देखिएको छ।
यद्यपि, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ।
यसअघि गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव अघि बढाइएको थियो। तर, कांग्रेसभित्रै पर्याप्त सहमति नजुटेपछि उनलाई नियुक्त गर्न असहज भएपछि देउवाले पौडेलको नाम अघि सारेका हुन्।
अब मन्त्रिपरिषद्को बैठकले साँच्चिकै गभर्नरको टुंगो लगाउँछ कि अझै प्रक्रिया लम्बिन्छ, भन्ने कुरा आज साँझ स्पष्ट हुनेछ। अहिलेको स्थितिले गभर्नर नियुक्ति प्रक्रिया राजनीतिक सहमति र व्यवस्थापकीय तयारीबीचको समन्वयको अभाव देखाइरहेको छ।