हिमालयन इन्भेष्टमेन्ट बैंकरद्वारा ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु
Author
NEPSE TRADING

हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आज (भदौ १५ गते)देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु गरेको छ। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने कम्पनीको पहिलो बन्दमुखी योजना हो।
कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाइमध्ये बीज पुँजीका लागि ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरेको छ। बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको हो।
लगानीकर्ताले यस योजनाको इकाइ खरिदका लागि भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २९ गतेसम्म म्याद थप गरिनेछ।
आवेदन दिन न्यूनतम १०० इकाइ र अधिकतम ४ करोड इकाइ माग गर्न सकिनेछ। तर, न्यूनतम इकाइ बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकलाई रकम फिर्ता गरिने व्यवस्था छ।
इकाइ बाँडफाँटको मितिले १० वर्ष अवधिको यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहनेछ।