आर्थिक वर्ष २०८१/८२ मा शेयर कारोबारमा ऐतिहासिक रेकर्ड
Author
NEPSE TRADING

आर्थिक वर्ष २०८१/८२ मा नेपालको धितोपत्र बजारले ऐतिहासिक उचाइ हासिल गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, यस वर्ष कुल कारोबार रकम २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भएको ७ खर्ब ३४ अर्ब ६८ करोडको तुलनामा १८९.२३ प्रतिशतले बढी हो। यसअघि सन् २०७७/७८ मा सबैभन्दा धेरै कारोबार १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँ भएको थियो।
बजार पूँजीकरणमा समेत उल्लेखनीय सुधार देखिएको छ। २०८१ असार मसान्तसम्म ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको पूँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले बढेर ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको हो। हालसम्म सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ भने मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकृत सूचीबाट हटेका छन्।
सो वर्षमा चारवटा कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (IPO) मार्फत सेयर बजारमा प्रवेश गरेका छन्। प्राथमिक, थप, सरकारी र स्थानीय वितरण, सामूहिक लगानी कोष र ऋणपत्रसमेत गरेर कुल ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन्।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, कारोबार वृद्धिमा योगदान पु¥याउने सरकार, धितोपत्र बोर्ड, नियामक निकाय, मर्चेन्ट बैंकर, लगानीकर्ता र सञ्चारकर्मी सबैलाई नेप्सेले विशेष धन्यवाद दिएको छ।