मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक : नेपाल १४५औं स्थानमा, एआईको भूमिकामा जोड
Author
NEPSE trading

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०२५ अनुसार, नेपाल ०.६२२ सूचकांकसहित १४५औं स्थानमा रहँदै मध्यम मानव विकास भएका देशहरूको सूचीमा परेको छ।
यस पटकको प्रतिवेदनले विगत ३५ वर्षमा नेपालको मानव विकास सूचकांकमा ५४ प्रतिशत वृद्धि भएको उल्लेख गरेको छ। यद्यपि, प्रतिव्यक्ति आयको कमजोरी र लैङ्गिक असमानता अझै चुनौतीका रूपमा कायम रहेको छ।
प्रतिवेदनमा यसपटक कृत्रिम बौद्धिकता (एआई) को प्रभाव, सम्भावना र चुनौतीहरूलाई विशेष प्राथमिकतामा राखिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रममा बोल्दै, नेपालले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता दिएको जानकारी दिए। डाटा सेन्टर स्थापना, डिजिटल अर्थतन्त्र र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न नीति निर्माण भइरहेको उनले बताए।
उनका अनुसार, शिक्षा, स्वास्थ्य र कृषि जस्ता क्षेत्रमा एआईको प्रयोगले उत्पादकत्व वृद्धि र सेवा प्रवाहमा प्रतिस्पर्धात्मकता ल्याउने सम्भावना रहेको छ।
युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले एआई प्रयोगबाट विकासशील देशहरूले कसरी लाभ उठाउन सक्छन् भन्ने सन्दर्भमा प्रतिवेदन तयार गरिएको बताइन्। उनले नेपालमा समावेशी सेवा प्रवाह, स्थानीय तहको क्षमता वृद्धि, विपद् व्यवस्थापन, र जलवायु परिवर्तन न्यूनीकरण जस्ता क्षेत्रमा एआई प्रभावकारी हुने आशा व्यक्त गरिन्।
सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय सूचना प्रविधि नीति, दूरसञ्चारसम्बन्धी कानुन अद्यावधिक, साइबर सुरक्षा र एआई सम्बन्धी कानुनी तथा प्राविधिक पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताइन्।
मानव विकासको सन्दर्भमा नेपालले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति गरे तापनि अझै धेरै सुधारको आवश्यकता रहेको देखिएको छ। विशेषतः आय वृद्धि, लैङ्गिक समानता, र प्रविधिको समावेशी उपयोग जस्ता क्षेत्रमा जोड दिनुपर्ने स्पष्ट देखिन्छ। एआईलाई रणनीतिक रूपमा समावेश गरेमा नेपालले विकासको गति तीव्र बनाउन सक्ने संकेत प्रतिवेदनले दिएको छ।