·

भारतको ‘अपरेशन सिन्दूर’ : पाकिस्तानमा मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

Author

NEPSE trading

भारतको ‘अपरेशन सिन्दूर’ : पाकिस्तानमा मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको १५ दिनपछि पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेशन सिन्दूर’ को नाम दिएको छ।

भारतीय सेनाका अनुसार आतंकवादी गतिविधि सञ्चालन भइरहेका संरचनालाई लक्षित गर्दै मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरजस्ता क्षेत्रमा हवाई हमला गरिएको हो। भारतीय मिडिया ‘द भाष्कर’का अनुसार कम्तिमा ३० जनाको मृत्यु भएको छ भने सयौं नागरिक प्रभावित भएका छन्।

टाउको उठाएको आतंकवादमाथि हमला

भारतीय सेनाले जारी गरेको वक्तव्यमा भनिएको छ, “पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मीरमा रहेका आतंकवादी संरचनालाई नष्ट गर्न यो अपरेशन गरिएको हो। यिनै स्थानबाट भारतमाथि हमला योजना बनाइएको थियो।”

पाकिस्तानको प्रतिक्रिया

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भारतले पाँच स्थानमा आम नागरिकको बस्तीमा हमला गरेको बताएका छन्। उनले भने, “भारतले कायरतापूर्वक हमला गरेको छ। यसको जवाफ दिइँदैछ र पाकिस्तानसँग त्यसको पूरा अधिकार छ।”

पाक रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगाना भनेर सर्वसाधारणको घर बस्तीमा हमला गरेको आरोप लगाए। उनले भने, “भारतले दाबी गरेको स्थानहरूमा दुईवटा मस्जिद पनि छन्। एक महिला र एक बालक मारिएका छन्। म अन्तर्राष्ट्रिय मिडियालाई घटनास्थलको अवलोकन गर्न आग्रह गर्छु।”

प्रत्यक्षदर्शीको बयान

मूजफ्फराबादका स्थानीय शहनवाजले बीबीसीसँग भने, “हामी निद्रामा थियौं, अचानक विस्फोटको आवाजले सबै झस्किए। अहिले महिला र बच्चाहरू लिएर सुरक्षित स्थान खोज्दैछौं।”

त्यस्तै बिलाल मस्जिद नजिकै बसोबास गर्ने मोहम्मद वहिदले भने, “पहिलो विस्फोटले नै घर हल्लियो, त्यसपछि थप तीनवटा मिसाइल आए। सिंगो क्षेत्र त्रासमा डुबेको छ।”

अन्तर्राष्ट्रिय प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको कारबाहीप्रति आपत्ति जनाउँदै यसलाई “लाजमर्दो” बताएका छन्। उनले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले यो हमला भएको थाहा पाएर आश्चर्यचकित भयौं। यस्तो अवस्था चाँडै अन्त्य होस् भन्ने चाहन्छौं।”

संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत–पाकिस्तान दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेका छन्। उनले भने, “नियन्त्रण रेखा तथा सीमामा हिंसा बढ्दो छ। विश्वले अर्को भारत–पाकिस्तान युद्धको जोखिम उठाउन सक्दैन।”

कश्मीरमा पुनः अशान्ति

मिसाइल हमलापछि कश्मीर क्षेत्रमा तनाव चुलिएको छ। स्थानीय बासिन्दाहरू त्रसित छन् र पुनः हिंसा बढ्ने आशंका गरिएको छ। महिला, बालबालिका लगायत सर्वसाधारण प्रभावित भएका छन्।

भारत र पाकिस्तानबीचको सम्बन्ध पहलगाम आक्रमणपछिका दिनमा लगातार बिग्रिँदै गइरहेको बेला यो आक्रमणले परिस्थिति अझ तनावपूर्ण बनाएको छ। अब दुबै मुलुकको अगाडि रहेको चुनौती भनेको सैन्य झडपलाई नियन्त्रण गर्नु र कूटनीतिक समाधानतर्फ उन्मुख हुनु हो।

Related News