जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
Author
NEPSE TRADING

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण मुलुकभरका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। यसका लागि बीमा कम्पनीहरूमा हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमा दाबीको आवेदन आउने क्रम अझै जारी रहेकाले यो रकम थप बढ्ने अनुमान गरिएको छ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार, हालसम्म कुल २,९८८ वटा बीमा दाबीका आवेदन दर्ता भएका छन्। तीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा दाबी परेको छ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा दर्ता भएको छ, जहाँ १,६०८ वटा आवेदन परेको छ। त्यसपछि कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा बीमा दाबी दर्ता भएका छन्।
कम्पनीगत हिसाबले सबैभन्दा ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसको रकम रु ५ अर्ब ४५ करोड ९३ लाख बराबर छ। त्यसपछि दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी परेको छ।
नेपालभरका १४ निर्जीवन बीमा कम्पनी र ४ माइक्रो इन्स्योरेन्स कम्पनीमा हालसम्म यी दाबी आवेदन दर्ता भएका छन्। प्राधिकरणले क्षति ठूलो भएकाले बीमा दाबीको संख्या र रकम दुवै अझै बढ्न सक्ने अनुमान गरेको छ।



