·

ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु

Author

NEPSE TRADING

ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु

काठमाडौं । अब नेपालमा ई–भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन) तथा भिसा–अन–अरलाइभ सेवाको भुक्तानी अन्तर्राष्ट्रिय कार्डमार्फत गर्न सकिने भएको छ। नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु गरिएको हो।

यसका लागि महालेखा नियन्त्रक कार्यालय (FCGO), प्रवासन विभाग (DOI) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच समन्वय गरिएको छ। यस प्रणालीमार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूले प्रवासन विभागको अनलाइन पोर्टल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिसा शुल्क सहजै भुक्तानी गर्न सक्नेछन्।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले उक्त सुविधा सार्वजनिक गर्दै यो कदमले अनलाइन भिसा आवेदन प्रक्रिया सजिलो बनाउने, सेवा प्रवाह प्रभावकारी बनाउने र सरकारी राजस्व संकलनमा ई–भुक्तानीलाई थप विस्तार गर्ने बताए।

यो सुविधा राष्ट्रिय भुक्तानी स्विचमार्फत अन्य सरकारी निकायमा समेत विस्तार गर्ने तयारी छ। यसले सरकारी कारोबारमा डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

वित्तीय वर्ष २०८१/८२ मा NCHL मार्फत सरकारी खर्च १,२१९ अर्ब रुपैयाँ र राजस्वसम्बन्धी कारोबार ३६६ अर्ब रुपैयाँ प्रोसेस गरिएको तथ्याङ्कमा उल्लेख छ।

Related News